राष्ट्रियता भनेको के?
समग्रमा बीपी ले लोकतन्त्र बिना राष्ट्रियता संभव छैन भन्ने सम्म त पुगे तर गणतंत्र बिना लोकतंत्र संभव छैन भन्ने सम्म पुगेनन। संघीयता त परको कुरा। आर्थिक क्रान्ति त शब्दकोश मा नै थिएन।
राष्ट्रियताः नेपालको सन्दर्भमा ¨ विपी कोइराला
समग्रमा बीपी ले लोकतन्त्र बिना राष्ट्रियता संभव छैन भन्ने सम्म त पुगे तर गणतंत्र बिना लोकतंत्र संभव छैन भन्ने सम्म पुगेनन। संघीयता त परको कुरा। आर्थिक क्रान्ति त शब्दकोश मा नै थिएन।
राष्ट्रियताः नेपालको सन्दर्भमा ¨ विपी कोइराला
गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए । गोरखाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन, जसले गर्दा विजित देशहरूका राजा र प्रजाहरूसँग कोमल व्यवहार गरिएन । काठमाण्डूका नेवार प्रजाहरूलाई अद्यावधि त्यसको गुनासो छ । ....... राष्ट्र भनेको के हो ? नेपाल भनेको के हो ? देश भनेको के हो ? जनता होइन र ? यदि जनताको अधिकार खोसिन्छ भने देशको हित कसरी त्यसले रक्षा गर्यो ? ....... देश भन्नोस् चाहे राष्ट्र भन्नोस्; त्यो भूगोल होइन, त्यो माटो होइन । त्यो यथार्थमा जनता हो । ...... यदि नेपाल भूगोलबाट एक करोड नेपाली जनताको आबादी लोप भयो भने मेरो अर्थमा नेपाल लोप हुन्छ, यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तस्तै स्थायी भइरहनेछ । ....... राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । ..... राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू – १) जनता, २) तिनका अगाडि उपस्थित भएको समस्या ३) त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टिको सामूहिक प्रयत्न र ४) त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना । यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ । ...... हामीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको दमनको सिलसिलामा राष्ट्रियताको नारालाई प्रचार गरेर राणा शासकले आफ्नो हुकुमी राज्य कायम राख्न गरेको प्रयत्नलाई बिर्सनु हुन्न । यहाँसम्म कि वर्तमान राजा र उनका पितासम्मलाई पनि अराष्ट्रिय तत्व घोषित गरी उनीहरू सबैलाई राज्यचुत् गर्ने काम राणा शासकले गरेको थियो । अहिलेका राजाबाट चालिएको राष्ट्रियताको प्रचार पनि राणाहरूबाट चालिएको प्रचारको हूबहू अनुरूप हो, भाषामा भन्नुहोस, चाहे प्रचार–प्रणालीमा । ...... १८औं शदीमा हिन्दुस्तानका भूभागमा अनेकौं राजा–महाराजा जागीरदार तथा साहसी सरदारहरू मुगल साम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिको लाभ उठाउँदै आफ्नो आफ्नो क्षेत्रको विस्तार र नयाँ नयाँ राज्यहरूको गठनमा तँछाड कि मछाड भन्दै विजयको होडमा लागेका थिए । त्यस्तै एउटा राजा पृथ्वीनारायण शाह हुन् । आफ्ना छिमेकका राजा–रजवाडाहरूभन्दा उनी बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरू शत्रुपक्षभन्दा अधिक दक्ष र रणकौशलयुक्त थिए । पृथ्वीनारायण शाह तथा उनका तुरन्तैका उत्तराधिकारीको
उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरु केही थिएन । त्यो राष्ट्रिय एकताको अभियान थियो भनेर त्यसलाई एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ ।
........... कमसेकम त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना या कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको ..... ब्रिटिस साम्राज्यको स्थापनाको प्रक्रियामा अंग्रेजहरूले आफ्नो बृहत्तर स्वार्थको हितलाई ध्यानमा राखेर हिन्दुस्तानका अधिकांश आर्थिक दृष्टिले लोभनीय भागलाई त आफ्नो सोझो कब्जामा गरे, बाँकी रहेको भागमा स्थानीय शासकहरूसँग विभिन्न प्रकारको सन्धि गरे । नेपालसँग पनि सन् १८१६ मा सुगौलीको सन्धि भएको थियो । ती सन्धिहरू यस अर्थमा पनि असमान थिए कि ती सन्धिद्वारा देशी शासकहरूलाई धेरथोर अधिकार प्राप्त थिए अनि
तद्नुरूप उनीहरूको सम्मान र प्रशस्ति र तोपको सलामीको संख्या निर्धारित गरिएको थियो
। ब्रिटिसहरूले यस श्रेणीबद्ध ढंगले भारतीय भूगोलमा परेका देशी राज्यहरूसँग एकएक गरेर युद्ध गर्दै भिन्न–भिन्न प्रकारको सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । त्यस व्यवस्थामा उनीहरूले नेपाललाई सबभन्दा ठूलो र सम्मानित स्थान दिएका थिए अनि क्रमशः निजाम, कश्मीर, बडौदाआदिको स्थान आउँथ्यो । सुगौली सन्धिले गोरखा राज्य विस्तारको अधियान समाप्त पार्यो । ............ सुगौली सन्धिले नेपाल देशको भूगोल निर्धारित ग¥यो, राष्ट्रको निर्माण त्यसले गरेन । हो, त्यस दिनदेखि भविष्यको बृहत्तर नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भयो । एउटा देशको गठन भयो, यस निर्धारित र निश्चित भूभागमा बस्ने यावत् जातिहरूको, विभिन्न धर्मावलम्बीहरूको, अनेक भाषाभाषीहरूको, एउटा देश नेपालको उदय भयो । गोरखा शासक तथा तिनका अनुयायीहरूको विजय–अभियानको परिणामस्वरूप र साथै ब्रिटिस विदेशी विजेताहरूको त्यस्तै अभियानसँग जुध्न पुगेर बन्नगएको नेपाल देशको इतिहास सन् १८१६ को सुगौली सन्धिबाट प्रारम्भ हुन्छ । .......... देशभर व्याप्त शासन व्यवस्थाको सञ्चालनको भाषा माध्यम नेपाली भाषा भयो । .......
तिनीहरूले विजित नेपाली भूभागमा आफ्नो प्रशासन कायम गरे तर विजेताको आफ्नो लक्षण र गुण–दोषलाई कायम नै राखे । २ सय वर्षपछि पनि, आजसम्म पनि नेपालका राजाले विजेताको आफ्नो स्वरूप छाड्न सकेका छैनन्
........ कतिपय दरबारियाहरू जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोगलाई राजाको साहसी कदम र राजमुकुटलाई दाउमा राखेको कुरा झेंपेर पनि गर्नसक्छन्, मानौं देश नेपालीहरूको नभएर राजाको पैतृक सम्पत्ति हो, मानौं राजमुकुट राष्ट्रिय प्रतीक नभएर राजाको व्यक्तिगत शीरशोभा हो, जसलाई बहुमूल्य भएकोले हारजीतको दाउमा राख्ने अधिकार उनलाई प्राप्त छ । .........नेपालको राष्ट्रियताको इतिहासमा सन् १८१६ पछिको काललाई नेपाली भाषाको विकासलाई छाडेर मरुभूमि युग भने पनि हुन्छ, जबकि शासक वर्गको विजयको बाढी रोकिएपछि उनीहरूको शासन र राजनीति केबल दरबारी षड्यन्त्रको दोस्रो नाम हुनपुग्छ ।
....... प्रशासक जमिनदारी खालको केवल तिरो उठाउने व्यवस्थामात्र बनेर रह्यो .....सेना एउटा त्यस्तो तत्व हो, जसको माध्यमद्वारा विभिन्न जाति तथा भाषाभाषीहरूलाई एउटै संगठनमा आबद्ध गरेर राष्ट्रियताको चेतना दिनसकिन्छ, त्यो भएन । सिविल सर्विस पनि राष्ट्रिय हुनसकेन, किनभने योग्यताको आधारमा, अरु कुनै निश्चित आधारमा त्यसको गठन भएन । शासकको खुशीमा सर्विसवालाहरूको योग्यता निर्भर रहने हुनाले तिनीहरूमा चाकरी मनोवृत्तिले प्रोत्साहन पायो । झन् वार्षिक पजनीको प्रणालीले गर्दा यो मनोवृत्तिले चरम सीमा प्राप्त ग¥यो ।
...... राष्ट्रिय शक्तिको उदय आफ्नो निहित स्वार्थका लागि घातक सम्झेर त्यसको विकासको सारा बाटो थुनेर राखे । हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागीर खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिँढोरा पिटेको सुहाउँदैन । ......सन् १८१६ पछि नेपाल देश बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो, त्यसमा आत्मा आउन सकेन; फ्रेम बनाइयो तर तस्बीर राखिएन; भाँडो कुँदियो, तर त्यसभित्र राखिने तत्व राखिएन ।
...... जहिले जहिले पनि नेपालको एकतन्त्री शासन व्यवस्थाविरुद्ध आवाज उठ्यो, त्यो राष्ट्रियताको आवाज थियो । शासनयन्त्रमा प्रजाको समावेश प्रजातन्त्रको मूलभूत सिद्धान्त हो र नेपालको राष्ट्रियताको जग पनि यही एउटा मूलभूत सिद्धान्तमा टिक्छ । साथै राष्ट्रिय भावनाबाट प्रेरित नेपाली जनताले गरिबीको चुनौतीको सामूहिक रूपबाट मुकाबिला गर्नसक्छ । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा पर्यायवाची शब्दजस्तो हुन पुगेका छन् । ........ २००७ सालको क्रान्तिको महत्व अत्यन्त ठूलो छ । नेपालको इतिहासमा शायद पहिलो पटक जनता तत्वबाट एउटा सामूहिक प्रयास गरियो । मेचीदेखि महाकालीसम्म तराई, पहाड र उपत्यकाका अनेक जाति, वर्ण, धर्मावलम्बीहरूले सम्मिलित आवाज उठाए । एउटा सशक्त देशव्यापी भावना जागृत भयो, राष्ट्रियताको उदय भयो । यो भन्नसकिन्छ कि राष्ट्रियताको विकासमा २००७ सालको क्रान्ति एउटा बलियो पाइलाको प्रथम चाल थियो । के त्यसभन्दा पहिले देशव्यापी आधारमा नेपाली जनताले एउटा भावनामा बाँधिएर कुनै कार्य सम्पादित ग¥यो ? २००७ सालको क्रान्तिको यस महत्वलाई बिर्सनुहुन्न । त्यसले शासन–व्यवस्थामा मात्र परिवर्तन ल्याएन, राष्ट्रियताको भावनाको पनि उदय गरायो । शासन–व्यवस्था त कोतपर्वले पनि परिवर्तन गरेको थियो । २००७ सालपछि राष्ट्रियतालाई विकसित हुने मौका प्राप्त भयो, जनतालाई प्रारम्भिक प्रजातान्त्रिक अधिकार प्राप्त भएकोले । देशभरिमा राजनीतिक–सामाजिक पार्टीहरू स्थापित भए, जसमा धेरैजसो देशव्यापी भए । प्रत्येक पार्टीले आफ्नो आफ्नो मञ्चबाट देशका कुन कुनामा आफ्नो देशव्यापी प्रोग्रामको घोषणा गरे, सामाजिक हुन्, चाहे आर्थिक, चाहे राजनीतिक । देशका जनताको आवाज बुलन्द हुनथाल्यो । .......... २०१५ सालको आमचुनावले राष्ट्रियताको अभिवृद्धिमा मद्दत गर्यो । संसद् एउटा राष्ट्रियसभा थियो । २०१७ सालमा राजाले राष्ट्रियताको बढ्दो गतिलाई सैनिक बल–प्रयोगद्वारा एक्कैचोटि रोके । उनी १० साल (२००७–२०१७)को राष्ट्रियताको प्राप्तिलाई समाप्त गरेर आफू पुनः विजेताको रूपमा प्रकट भए । २००७ सालमा मुकुट एउटा राष्ट्रिय प्रतीकजस्तो भएको थियो, मुकुटधारीको जेसुकै आन्तरिक इरादा भएता पनि । २०१७ सालमा त्यो मुकुट राष्ट्रिय प्रतीक नभएर एउटा विजेताको शीरशोभा हुनपुगेको छ । ..... २०१७ पौष १ गतेको काण्ड यस दृष्टिबाट न केवल घोर अप्रजातान्त्रिक हो, त्यो घोर अराष्ट्रिय पनि हो । जनताको मौलिक अधिकारको हननलाई कुनै पनि अर्थमा राष्ट्रियताको कदम भन्न सकिन्न ।