पहाडे मनोवृत्तिका ब्राह्मणलाई मानवीकरण गर्ने मौका हो मधेस आन्दोलन
तर झापामा म जहाँ जन्में, जतिखेर जन्में, त्यति बेलामा पहाडे समुदायको बाहुल्य भइसकेको थियो । राजवंशीहरु, सन्थालहरु धकेलिएर तल पुगिसकेका थिए त्यो बेला । ...... म जन्मेर हुर्किंदै गर्दा घरमा मलाई के भनिन्थ्यो भने कोशी नदी तरेर उत्तापट्टि पश्चिमतिरको भाग नेपालजस्तो लाग्दैन । ...... त्यही डे बसमा काठमाडौं घुम्न आउँदा कोशी नदीभन्दा पश्चिमपट्टि झ्यालबाट बाहिर हेर्न मन लाग्दैनथ्यो । म झ्याल बन्द गर्दथें । किनभने यो मेरो ठाउँजस्तै लाग्दैनथ्यो । ...... त्यो ठाउँ पनि नेपाल त नेपालै हो । तर त्यहाँ बस्ने मान्छे नेपाली होइनन् जस्तो मैले बुझेको थिएँ । अथवा मलाई त्यसरी नै बुझाइएको थियो । त्योसँग ‘आइडेन्टिफाइ’ गर्ने कुनै तत्व नभएकोले मैले झ्याल बन्द गरेर हेर्न नपरेजस्तै थियो । र, मलाई के लाग्दछ भने यसरी हेर्नु वा यसरी हेर्न वा यसरी हेर्न सिकाइनु अमानवीकृत गर्नु हो । मानव हुन नदिनु हो । अर्को मान्छेलाई होच्याएर हेर्न सिकाइनु अथवा अर्को मान्छेलाई मभन्दा कम आँकेर हेर्न सिकाउनु मलाई सम्पूर्ण मानव हुन नदिनु हो । ...... अहिलेको मधेस आन्दोलन खगेन्द्र दाइले भनेजस्तै हाम्रो लागि एउटा ठूलो मौका हो । पहाडमा जन्मेहुर्केको अथवा पहाडे मनोवृत्तिबाट हुर्केको, हामीजस्ता ब्राह्मणले आफूलाई बढी मानव बनाउने अथवा मानवीकरण गर्ने ठूलो मौका हो यो आन्दोलन । किनभने यो आन्दोलनले हामीलाई ‘अनलर्न’ गर्न सिकाउँछ । पुराना वा पूर्व धारणालाई भत्काएर नयाँ ढंगले सोच्न सिकाउँछ । दुःख र विडम्बना के हो भने यसरी सोच्ने हामीजस्ता व्यक्ति एकदम अल्पमतमा छौं । तर चाँडै त्यस्तो दिन आउने छ, जहाँ चाहिँ हामी पूर्ण मानव बन्ने छौं र धेरैले, बहुमतले त्यसरी सोच्ने छन् ।
No comments:
Post a Comment