Bringing them to book in the US by Murari Sharma
कांग्रेसले रोज्नुपर्ने बाटो
कांग्रेसले रोज्नुपर्ने बाटो
गगन थापा
प्रतिपक्षी राजनीति नियन्त्रण गर्न अधिकतम हिंसा र बल प्रयोग गर्नु अधिनायकवादी सत्ताको वंशानुगत विशेषता हो । यस्तो सत्ता न अधिक बल प्रयोगको सामाजिक या नागरिक प्रभावप्रति संवेदनशील हुने गर्छ, न यसले शासन प्रणालीभित्रका मतभेद र असहमति प्रकट गर्न स्वीकृत मार्ग नै उपलब्ध गराउँछ । मुठभेडको राजनीति यसको बाध्यता हुने गर्छ ।
कफ्र्यु, नजरबन्द, धरपकडजस्ता अलोकपि्रय कदम, न्यायपालिका तथा निर्वाचन आयोगमा गरिएको नग्न हस्तक्षेप, जनप्रदर्शनमाथि गरिएको बर्बर दमनजस्ता क्रूर कृत्यले राजाको अधिनायकवादी सत्ताको शासकीय बाध्यतालाई अभिव्यक्त गर्दैछन् । तर यही भीषण दमनले सिर्जना गरेको कोलाहलमा राजाका पाल्तु मुसाहरूले मसिनो स्वरमा संवाद र सहमतिको मन्त्र जप्न थालेको सुनिएको छ । राजनीतिक दलहरूलाई माओवादीको मतियार सावित गर्न भौतिक र बौद्धिक कसरत चलिरहेको समयमा कथित संवैधानिक शक्तिहरू माझको मिलनको प्रस्ताव निश्चित रूपमा सकारात्मक छैन । सत्ताको वैधानिकता पूरापुर संकटग्रस्त हुँदै गएपछि वैधानिकता प्राप्तिको नयाँ आधारको खोजीमा राजाका मुसाहरू नयाँ भूमिकामा देखा पर्दैछन् ।
आफ्नो वैधताको नवीकरणका निम्ति सत्ताले उठाएको निर्वाचनको जोखिम यसका निम्ति आत्मघाती हुने निश्चितप्रायः छ । निर्वाचन सम्पन्न गराए पनि यो सरकार हार्यो, स्थगन गरे पनि सरकार नै हार्यो ।
'रेड रिभलुसन थ्रेट' तेस्र्याएर सत्ताले प्राप्त गरिरहेको आंशिक अन्तर्राष्ट्रिय समर्थनसमेत बितेका केही दिनहरूमा धराशायी बन्दै गइरहेको छ । सत्ता अन्तर्राष्ट्रिय एकलाव र एकलासको अवस्थामा आइपुगेको छ । आफ्नो अधिनायकवादी महत्त्वाकांक्षालाई आतंकवाद नामेट पार्दै प्रजातन्त्रमा र्फकने अभियानको आवरणमा ढाकछोप गर्न सकेमा मात्र माघ १९ ले अन्तर्राष्ट्रिय क्षेत्रबाट शंकाको सुविधा पाउन सक्ने यसको बुझाई छ । त्यसैले संवादको यो मसिनो स्वर आफूसँग हुँदै नभएको उदार र प्रजातान्त्रिक छवि प्रस्तुत गरेर सत्तासँग निरन्तर अलग र यसको प्रतिवादमा सुस्तरी एकढिक्का हुँदै गएको अन्तर्राष्ट्रिय समुदायलाई दिग्भ्रमित पार्ने अर्को एउटा कुटिल चालमात्रै हो ।
हिंसात्मक विद्रोही शक्ति र आन्दोलनकारी दलहरूमाझ बृहत् जनसंघर्षमार्फत क्रान्तिकारी फड्को मार्ने अभियानमा भएको प्रारम्भिक समझदारीको दूरगामी राजनीतिक महत्त्वको अनुमान मात्रले पनि यो सत्ता सन्त्रस्त छ । यो समझदारीले सहकार्यको रूप ग्रहण गर्नुपूर्व नै शैशव अवस्थाको दल-माओवादी गठबन्धन तोड्नु कमजोर सत्ताका निम्ति अनिवार्य भएको छ । संवादको प्रस्ताव यही बाध्यताको अभिव्यक्ति हो । कथंकदाचित् संवादको पासोमा दलहरू परे भने जनआन्दोलनको पक्षमा बन्दै गइरहेको अभूतपूर्व वातावरण भताभुङ्ग हुनजाने यसको बुझाई छ ।
संवादको पासो फ्याँक्दै गर्दा निरंकुश सत्ताको नजर यसपटक आन्दोलनरत मोर्चाको मूलशक्ति नेपाली कांग्रेसमाथि परेको छ । एकल जनसभामा तुलनात्मक रूपमा कम सहभागिताको प्रसङ्ग उल्लेख गरेर कांग्रेस भड्काउने गिरीको कुटिल प्रयास, दरबारका दूत रवीन्द्रनाथ शर्माको कांग्रेस सभापति कोइरालालाई उक्साउने अभिव्यक्ति, दरबार-कांग्रेसका साझा मित्रहरूको राजालाई मुसार्ने, कांग्रेस फकाउने नयाँ अभियानले सत्ताको यस्तै आशयलाई प्रस्ट पार्छ । आखिर सत्ताको फुटाउ अभियानको पहिलो छनोटमा कांग्रेस नै किन परेको छ ?
कांग्रेसको गौरवशाली इतिहास, यसको जनाधार, प्रजातान्त्रिक छविको अविछिन्न निरन्तरता, अन्तर्राष्ट्रिय सम्बन्ध र परिचयको कारणले गर्दा कांग्रेसको उपस्थिति रहेसम्म दल-माओवादी गठबन्धनले निरन्तर रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय वैधता र समर्थन प्राप्त गर्दै जाने यथार्थलाई यो सत्ताले राम्ररी बुझेको छ । यो गठबन्धनमा कांग्रेस रहेसम्म अन्य कुनै पनि फुटले झीनो मात्रात्मक महत्त्व राखे पनि गुणात्मक अर्थ नराख्ने निश्चित छ । त्यसैले सत्ताको हितरक्षा निम्ति गठबन्धनबाट कांग्रेसलाई अलग बनाउने प्रयत्न सत्ताका निम्ति बाध्यात्मक छनोट हो ।
अर्कोतर्फ कांग्रेस नेतृत्वको एउटा पंक्तिमा सघन रूपमा रहेको कम्युनिष्टविरोधी मनोबनोटलाई 'ग्रेटर रेड एलायन्स' को खतरा देखाएर फुटाउ अभियानमा प्रयोग गर्न सकिने यसको आँकलन छ । कांग्रेस नेतृत्व र नीतिलाई प्रभावित गर्नसक्ने हैसियतमा रहेका नरमपन्थी, सम्झौतावादी, अस्थिर एवं ढुलमुले चरित्रका कांग्रेसकै नेताहरू आफ्नो अभियानमा सहयोगी हुने ठूलो विश्वास पनि छ । वामशक्तिको मात्रात्मक उपस्थिति बढिरहेको गठबन्धन विजय भएपश्चात पनि जनआन्दोलनको उपलब्धिमा कांग्रेसको नियन्त्रण र स्वामित्व कमजोर हुनसक्ने भन्ने पार्टीभित्रको एउटा पंक्तिको मनोविज्ञानले पनि फुटाउ अभियानको प्रारम्भ कांग्रेसबाटै गर्न सत्ता हौसिएको हुनसक्छ । कथित संवैधानिक शक्तिहरूको एकतालाई संकट समाधानको सूत्र मान्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय समूहले पनि यस अभियानमा सक्रिय साथ दिने विश्वासमा पनि सत्ताले संवादको पासो कांग्रेसतर्फ फ्याँकेको सहजै अनुमान गर्न सकिन्छ । यो संगीन घडीमा नेपाली कांग्रेसको आगामी कदम जनआन्दोलन हुँदै समग्र राष्ट्रको भविष्यसँग त जोडिएको छ नै, स्वयम् कांग्रेसको भविष्यसमेत यसकै कदमले निर्धारण गर्नेछ ।
नजरबन्दबाट रिहा भएपश्चात कांग्रेस सभापतिले व्यक्त गर्नुभएको आन्दोलनप्रतिको प्रतिबद्धता प्रशंसनीय त छ नै, यो अठोटले जनआन्दोलन र कांग्रेस दुवैको शुभभविष्यको संकेतसमेत गरेको छ । नेतृत्वको प्रतिबद्धतालाई नीतिगत सुस्पष्टताले बल पुर्याउँछ । हाम्रो नीतिगत निर्णय एवं राजनीतिक कार्यदिशा सत्ता राजनीतिको प्रतिक्रिया नभएर, कांग्रेसले निर्वाह गर्नैपर्ने युगिन दायित्व बोधको परिणाम भएको स्थापित गर्न केही मूलभूत विषयहरूमा प्रस्ट हुन भने नितान्त आवश्यक छ ।
आन्दोलनको लक्ष्य सामान्य समस्याहरूको निरूपणमात्र भएको अवस्थामा अलग-अलग विशिष्ट सन्दर्भमा समस्याको विश्लेषण गरेर संवैधानिक संस्थाको परिधिभित्र आन्दोलनको भविष्य खोज्न सकिन्छ । तर लक्ष्य सुधारात्मक परिवर्तन होइन, संरचनात्मक परिवर्तन, समस्या आन्दोलनको निरूपण नभएर संकटको समाधान भएको स्थापित भइसकेको छ । राजनीतिक प्रणालीको परिधिबाहिर निस्केर गरिने राजनीतिक र सामाजिक हस्तक्षेपमार्फत मात्र संरचनात्मक परिवर्तन सम्भव छ । अतः कुनै पनि बहानामा यो सत्तासँग गरिने सम्झौताले राजनीतिक संकट हल गर्न सक्दैन । अब संघर्षको विकल्पको सुविधा यो पुस्तासँग बाँकी छैन । राजनीतिक संकट अहिलेको यथार्थ हो भने जनसंघर्षमार्फत संकटको हल अवश्यम्भावी सत्य । यो अवस्थामा जुन शक्ति संकट समाधानको अंश बन्न सक्दैन, इतिहासको कसीमा यसको मूल्यांकन समस्याको अंशको रूपमा हुनेछ । संवादको मार्ग हिँडेमा कांग्रेस समस्याको अंश बन्नेछ, संघर्ष रोजेमा समाधानको बृहत् अंश औ जनताको नायक बन्नेछ ।
केही अघिसम्म संघर्षका हाम्रा कार्यक्रमहरू कार्यकर्तामा निर्भर, पार्टी नियन्त्रित सरकारविरोधी गतिविधिका रूपमा सीमित थिए । आन्दोलनको विस्तार र विश्राम पार्टीहरूको नियन्त्रणमा थियो । तर निम्नस्तरबाट उच्चस्तरतर्फ जाने आन्दोलनको सार्वभौम नियमअनुरूप यो अवस्थामा आन्दोलन आमजनताको तहमा व्यापक स्वीकृति प्राप्त गर्दै जनताको राजनीतिक चेतनाको महत्त्वपूर्ण अङ्ग बनिसकेको छ । भाषिक, लैङ्गकि, जातीय, क्षेत्रीय एवं सांस्कृतिक र सामाजिक, राजनीतिक र आर्थिक सन्दर्भमा विद्यमान रहेको विशेष अधिकारको स्थितिलाई भङ्ग गर्नेमात्र होइन, भूतको कथित योगदान र जन्मको आधारमा राजसंस्थाले प्राप्त गर्दै आएको विशिष्ट अधिकार ध्वस्त पार्ने तथा राजतन्त्रको छहारीमा मौलाएको उच्च वर्ग एवं कुलिनहरूको सर्वपक्षीय अराजकतालाई अन्त्य गर्ने आकांक्षाहरू आन्दोलनमा समाहित भइसकेको छ । समय लाग्न सक्छ, नायकहरू पनि फेरिन सक्छन्, निश्चित रूपले उतार-चढाव पनि आउनेछ, तर जनताको पूर्ण परिवर्तनको आकांक्षाबाट ऊर्जा प्राप्त गरेको रूपान्तरणको यो महाअभियान कुनै एक शक्ति वा समूहले चाहेर रोक्न अब विलकुल सम्भव छैन । संवादको मार्ग अख्तियार गरेर सदा परिवर्तनको पर्यायवाची बनेको कांग्रेस रूपान्तरणको बाधक बन्न पुगेमा जनआन्दोलन कांग्रेस छोडेर अघि बढ्नेछ । सहमतिको मार्ग आत्मघाती हुनेछ, संघर्षको रोजाइ चुनौतीपूर्ण त होला नै, तर यसैमा मात्र हाम्रो भविष्य छ ।
दक्षिणपन्थी निरंकुशतन्त्रबाट मुक्त हुने प्रयत्न गर्दा कतै उग्रवामपन्थी अधिनायकवादको सिकार बनिने हो कि भन्ने त्रासले हामीलाई कैयनपटक शिथिल बनाएको छ । अधिनायकवादी सत्ताको विरोधमा सहर केन्दि्रत संघर्षलाई चर्काउँदै जाँदा ग्रामीण जनयुद्ध र सहरी जनविद्रोहबीच समायोजन गराउने प्रचण्डपथको योजनाअनुरूप सहरी विद्रोहको भूमिका निर्वाह गरेर माओवादीहरूको एकतन्त्रीय आकांक्षा साकार पार्न हामी प्रयोग पो हुने हौं कि भन्ने भय पनि व्याप्त छ । तर कांग्रेसले बुझ्नुपर्छ, विश्व समाज बदलिसकेको छ, बहुलताको प्रत्याभूतिसहितको लोकतान्त्रिक व्यवस्था अब अन्तर्राष्ट्रिय सर्तको विषयमात्र होइन, राष्ट्रिय आकांक्षासमेत बनिसकेको छ । दल-माओवादी गठबन्धन जति मजबुत हुँदै जान्छ, यसले जति राष्ट्रिय/अन्तर्राष्ट्रिय वैधता प्राप्त गर्दै जान्छ, विद्रोहीहरूको हिंसाप्रतिको लगाव घट्दै जाने निश्चित छ । शान्तिपूर्ण जनआन्दोलनको राप र ताप बढ्दै जाँदा माओवादी विद्रोहीहरू लोकतन्त्रप्रतिको औपचारिक प्रतिबद्धतालाई प्रचण्डपथको अभिन्न अङ्ग बनाउन बाध्य हुनैपर्छ । आन्दोलनको आगोमा सबै प्रकारका अधिनायकवादी आकांक्षाहरू एकैपटक जलेर स्वाहा हुनेछन् । प्रचण्डले भनेजस्तो नेविसंघ र अखिल सत्ताको दमनविरुद्ध लड्न माओवादीसँग हतियार माग्न जाने होइन, शान्तिपूर्ण जनआन्दोलन चुलिँदै जाँदा माओवादीहरू हतियार छोडेर हामीसँगै लाममा आउनेछन् । अतः यो निश्चित छ, उग्रवामपन्थी अधिनायकवादको त्रासमा, निरंकुश सत्तासँग संवादमा जाने हो भने अन्ततः अतिवादकै विजय हुनेछ । संघर्षको रोजाइले हिंसा-प्रतिहिंसाको चक्रबाट मुलुकको मुक्ति एवं न्यायपूर्ण शान्ति स्थापनको कृत्यका निम्ति कांग्रेस लोकतन्त्रवादीहरूको निरन्तर रोजाइको पात्र बन्नेछ ।
शान्तिपूर्ण जनआन्दोलनको मार्गबाट प्राप्त हुने संविधानसभामा पुगेरमात्र विश्राम लिने कांग्रेस सभापतिको अठोटलाई अझ बुलन्द बनाउनु कांग्रेसजनको दायित्व बनेको छ । ००७ सालको मुक्ति आन्दोलनको घोषणापत्रमार्फत नेपाली कांग्रेसले जनतासामु गरेको संविधानसभाको वाचा पूरा गर्ने समय आएको छ । तर समयलाई चिन्न नसक्ने हो अनि संघर्षको मार्ग नरोज्ने हो भने कांग्रेस असान्दर्भिक बन्ने निश्चित छ ।
इतिहास साक्षी छ, नेपाली राजसंस्थाको सुध्रने चरित्र नै छैन । यसलाई सुधार्ने र सहमतिमा ल्याउने विगतका हाम्रा प्रयत्नहरू निरर्थक सावित भइसकेका छन् । इतिहास पढ्नेमात्र होइन, यसबाट सिक्न सक्नुपर्छ । इतिहासबाट सिक्ने हो भने, समयको गतिलाई बुझ्ने हो भने नेपाली कांग्रेस नै नेपाली राजनीतिको मूलशक्ति बनिरहनेछ । तर इतिहासबाट नसिक्ने हो अनि समयको गतिलाई नबुझ्ने हो भने एउटा अर्को केशव स्थापित खोजेर हाम्रो कांग्रेस पनि प्रजापरिषद्झैं ठेक्कामा दिनुपर्ने दिन चाँडै नआउला भन्न सकिँदैन ।अहिंसाका प्रश्न
From The Past Issues Of Janadesh, Maoist Mouthpiece
डा बाबुराम भट्टराईलाई शान्तिको सन्देश
डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
प्रवासी नेपाली: "नैतिक समर्थन कायम राख्दै भौतिक समर्थन थप्ने।"
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल