
हिंसामाभन्दा अहिंसामा बढी तागत छ। बन्दुकमाभन्दा कलममा बढी तागत छ। निरंकुशतामाभन्दा लोकतन्त्रमा बढी तागत छ। राजा, पुलिस र सेनासँग तागत छैन, तागत जनतासँग छ। यी सत्यलाई स्थापित गर्ने एक तरिका देशव्यापी पम्फलेटिङ हो। यसमा संसारभरिका नेपालीहरु सहभागी हुन सक्छन् र हुनु जरुरी पनि छ।
पम्फलेटिङकालागि शब्द चाहियो, छाप्नकालागि पैसा चाहियो, देशव्यापी वितरणकालागि संगठन चाहियो। तीन वटै कुरा देश र प्रवास दुवैबाट जुटाउनुपर्छ। पम्फलेट कागजमा त छाप्ने छाप्ने, साथै इन्टरनेट मार्फत पनि व्यापक प्रचार प्रसार गर्ने।
इन्टरनेटमा जसले जति लेखे पनि भयो। त्यसमध्येको उत्क्रृष्ट सामग्री पम्फलेटमा जान्छ। इन्टरनेटमा त अडिओ भिडिओको पनि संभाव्यता रहन्छ (Blogger, Audioblogger, Blastpodcast, YouTube)। तर नेपालको आम जनमानस समक्ष पुग्न पम्फलेट नै चाहिन्छ। फ्रान्सको क्रान्ति पम्फलेटिङले संभव बनायो। हामीले फ्रान्समा जस्तो हिंसात्मक क्रान्ति खोजेको होइन। तर अब आन्दोलनको समय समाप्त भइसक्यो, अब क्रान्तिको समय आइसक्यो।
क्रान्तिको मेरुदण्ड नै देशव्यापी पम्फलेटिङ हुनेछ। त्यसकालागि पैसा प्रवासबाट पनि पठाइनेछ। संगठन त आठ पार्टी र तिनका भ्रातृ संगठनहरु छँदै छन्। विशेष गरेर आठ विद्यार्थी संगठनले अहं भुमिका खेल्न सक्छन्। राजा खुदलाई संवैधानिक राजतन्त्र चाहिएको छैन। भनेपछि लोकतान्त्रिक गणतन्त्र अब एक मात्र विकल्प बाँकी छ।